कात्तिक १, सुर्खेत । श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई २४ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्ट छन् ।
मानव बेचबिखन मुद्दाका फरार अभियुक्तको सूचीमा रहेका भक्तबहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटुको टोलीले बुधवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
घरमै लुकिछिपी बसेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । भक्तबहादुरविरूद्ध जाहेरी आएको घटना भने २४ वर्षअघिको हो । २०५७ साल मंसिर १३ गते उनले श्रीमती लाई भारतमा बेचेको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको थियो ।
