भदौ १, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्डविपरीत सिमेन्ट उत्पादन भएको भन्दै भूगर्भ पीपीसी सिमेन्ट कपिलवस्तुलाई कारबाही गरेको छ ।
विभागले सोमवार गरेको नमूना परीक्षणमा भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित पीपीसी सिमेन्ट नेपाल गुणस्तर मापदण्डविपरीत पाइएको भन्दै विक्री वितरणमा रोक लगाएको छ ।
विभागले कपिलवस्तु कृष्णनगरका स्थानीय रमाकान्त चौधरीको गुनासोपछि सिमेन्ट परीक्षण गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले तोकेको गुणस्तर मापदण्डभन्दा सिमेन्टको गुणस्तर कम आएकाले कारबाही गरिएको जानकारी दिए ।
विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन २०३७ तथा नियमावली २०४० बमोजिम पीपीसीको विक्री वितरणमा रोक लगाई स्पष्टीकरण माग गर्नुका साथै बिना मूल्य गुनासोकर्तालाई सामान बदली गराइदिन निर्देशनसमेत दिएको छ । (रासस)
