बञ्चरेडाँडा जाने फोहोरका गाडीलाई ककनीमा १५ सय प्रवेश शुल्क

Byपहिलो सुचना

२०८० असार २७, बुधबार ०२:१८ २०८० असार २७, बुधबार ०२:१८ २०८० असार २७, बुधबार ०२:१८
Fohor

२६ असार, काठमाडौं । ककनी गाउँपालिकाले आगामी १ साउनदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाका प्रमुख सुमन तामाङका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी १०० रुपैयाँ र अन्यका लागि १००० रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्‍ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ ।

‘आगामी आर्थिक वर्ष २०८०/८१ सुरु हुने दिन १ साउनदेखि फोहोर बोक्ने गाडीसँग शुल्क लिन्छौं,’ उनले भने । तर, संविधानले सवारीको आगमनलाई प्रभावित गर्ने गरी स्थानीय तहले यस्तो सेवा शुल्क लिने अधिकार दिएको छैन । यसबारे पहिलोसुचनाले गरेको प्रश्नमा अध्यक्ष तामाङले भने, ‘फोहोर व्यवस्थापन स्थानीय तहको जिम्मेवारी हो, यो गर्दा शुल्क लिन पाइन्छ, हामी ल्यान्डफिल साइट प्रभावित क्षेत्र भएकाले स्वभाविक रुपमा फोहोर व्यवस्थापन गर्नेहरुले हामीलाई प्रभावितका रुपमा व्यवहार गर्नुपर्छ ।’

बञ्चरेडाँडमा फोहोर पठाउने सबै स्थानीय तहलाई १ साउनदेखि लागु हुने प्रवेश शुल्कबारे जानकारी दिन पत्र काटिएको उनले बताए । ‘यहाँ फोहोर ल्याउने गाडीका चालकहरुलाई पनि यसबारे जानकारी गराएका छौं,’ उनले भने ।

सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसत ११०० टन फोहोर बञ्चरेडाँडामा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५११ टन र ललितपुर महानगरपालिकासहित आसपासका अन्य नगरबाट ५२३ टन फोहोर उठ्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जान्छ ।

ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।

गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । शंखरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

अब यस्तो फोहोर बोकेर जाने गाडीले कककनी गाउँपालिका प्रवेश गर्दा नै शुल्क तिर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook