जेठ ६, काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम रोकिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले शनिबारसम्म १० बजेसम्मको समय मागेकाले मन्त्रिपरिषद् विस्तारको काम रोकिएको बताए।
सुदूरपश्चिममा शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो। शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थिए।
‘नागरिक उन्मुक्तिले शनिबार १० बजेसम्मको समय मागेको छ, उहाँहरूको निर्णयपछि मन्त्रिपरिषद् विस्तार हुनसक्छ,’ शाहीले भने।
शाहीले विस्तार हुन लागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये एक जना र नेकपा (माओवादी केन्द्र)बाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आएको बताए। माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ।
प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पार्टीभित्रको आन्तरिक छलफल र सत्ता गठबन्धन दलसँगको छलफलसमेत टुङ्गिन बाँकी रहेको बताए। आफूहरूले दुई मन्त्रालयमा मागेको उनले बताए।
गत मङ्सिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो।
संविधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त भएका थिए।
त्यसपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
फेरिएको राजनीतिक समीकरणसँगै शाहलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) को समर्थन छ । संविधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट उनले सजिलैसँग विश्वासको मत पाएका थिए।
मुख्यमन्त्री शाहको नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबाहेक अन्य मन्त्रालय नेतृत्वविहीन छन्।
कांग्रेसका युवा नेतासमेत रहेका प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) का युवा नेता नरेशकुमार शाहीले आर्थिक मामिला मन्त्रालय सम्हाल्दैै आएका छन्। (रासस)
