आज फागुपूर्णिमा मनाइँदै

Byपहिलो सुचना

२०७९ फाल्गुन २२, सोमबार ०७:२४ २०७९ फाल्गुन २२, सोमबार ०७:२४ २०७९ फाल्गुन २२, सोमबार ०७:२४ #फागुपूर्णिमा

फागुन २२, काठमाडौं । आज फागुपूर्णिमा मनाइँदैछ । पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

उनले फागुपूर्णिमाको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्तसमेत गरेकी छन् ।

‘नेपाली समाज जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो । तसर्थ फागुपूर्णिमा जस्ता पर्वहरूले नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास मैले लिएको छु,’ राष्ट्रपतिले जारी गरेको सन्देशमा भनिएको छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन् ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्वका अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका हुन् ।

विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्नसमेत यस्ता पर्वले अभिप्रेरित गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook