माघ ११, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवन अगाडी आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।
इलामका ३७ वर्षीय आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । उनको उपचातका क्रममा बुधबार बिहान साढे ५ बजे निधन भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।
आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि उनको शरीरको ८० प्रतिशतभन्दा बढी जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले बताए ।
आचार्यले आफूलाई आगो लगाउनुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताएका थिए ।
उनले जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको स्टाटसमा उल्लेख छ । आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उनले उल्लेख गरेका थिए । उनले स्टाटस मार्फत नै आफ्नो श्रीमती र दुई छोरीलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् ।
