न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

Byपहिलो सुचना

२०७९ माघ ५, बिहीबार १२:३९ २०७९ माघ ५, बिहीबार १२:३९ २०७९ माघ ५, बिहीबार १२:३९

माघ ५, वेलिङ्टन । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्याशित रूपमा घोषणा गरेकी हुन् ।

आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छन् ।

४२ वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताइन् । “म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मेरो समय हो,” उनले पार्टी बैठकमा विश्रामको घोषणा गर्दै भनिन् । फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उनले बताइन् । पार्टीका सदस्यले देशलाई नेतृत्व गरेकामा आभार व्यक्त गरेका थिए ।

कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्कवादी आक्रमण  र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फाेटको कठिन समयमा उनले देशको नेतृत्व गरिन् ।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उनी विश्वकै कान्छी महिला सरकारप्रमुख भएकी थिइन् । उनले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताएकी छिन् । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उनी उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री भइन् । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook