माघ ५, काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि आज चुनाव हुँदैछ । चुनावका लागि बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन् । एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे झापा-२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन् भने दाङकी न्यौपाने समानुपातिक सांसद् हुन् ।
एमालेका घिमिरेलाई माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको साथ रहेको छ । सत्ता गठबन्धनका माओवादीका ३२, एमालेका ७९, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ गरेर एक सय ४५ मत सुनिश्चित रहेकाले एमालेका घिमिरेलाई बहुमत पुग्ने देखिन्छ । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत नहाल्ने र कर्तव्य ज्यान मुद्दामा फरार एमालेका लक्ष्मी कोइरी महतोले मत नहालेमा सत्तागठबन्धनका चार दलको मत एक सय ४३ हुन आउँछ ।
सत्तागठबन्धनभित्र रहेका जसपा, जनमत र जनमुक्ति पार्टी असन्तुष्ट छन् । जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चारजना गरेर २२ सदस्य छन् ।
विपक्षी दलतिर अहिले कांग्रेसको ८८ र एकीकृत समाजवादीका १० जना गरी ९८ खुलेका छन् । अरु पार्टीले कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन् ।
कुल २७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १३८ सदस्यको मत आवश्यक पर्नेछ ।
