निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं – प्रधानमन्त्री प्रचण्ड

Byपहिलो सुचना

२०७९ पुष १२, मंगलवार १२:२२ २०७९ पुष १२, मंगलवार १२:२२ २०७९ पुष १२, मंगलवार १२:२२

पुस १२, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल उद्योग परिसंघले भेटवार्ता गरेको छ । 

अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो ।

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिँदै  चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएका थिए ।

परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्री समक्ष पेस गरेको छ । 

परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न  वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रर्वद्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए ।

उनले भने, ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिएँ। परिसंघले स्पष्ट रूपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद ।’

प्रधानमन्त्री दाहालले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधान गर्नु मै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए ।

‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौंं । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं’, उनले भने ।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, बीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायतले बधाई तथा शुभकामना दिएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook