पुस ११, काठमाडौं । उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा कम्तिमा ३८ जनाको ज्यान गएको छ ।
खराब मौसमका कारण अमेरिकामा मात्रै ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।
यो आँधीको सबैभन्दा बढी प्रभाव न्यूयोर्क राज्यको बफेलो सहरमा देखिएको छ । क्रिसमसको समयमा आएको भयानक शीत आँधीबाट न्युयोर्क राज्यमा मात्रै १२ जनाको मृत्यु भएको न्युयोर्क गभर्नर क्याथी होकुलले पुष्टि गरिन् ।
यात्रामा अहिले पनि समस्या रहेको छ भने देशभरि दशौं हजारका घरमा विद्युत आपूर्तिमा अवरोध आएको छ । न्यूयोर्कमा भारी ताल प्रभाव हिमपातले आपतकालीन उद्धार प्रयासहरूलाई अवरोध समेत गरेको छ ।
तूफान जस्तै शक्तिशाली हावाहुरी र हिमपातको अवस्थाकाले जनजीवन प्रभावित भएको हो । बफेलो एयरपोर्ट मंगलबारसम्म बन्द छ । राष्ट्रिय मौसम सेवाले आइतबार बिहान ७ बजेसम्म बफेलोको विमानस्थलमा ४३ इन्च हिमपात भएको जनाएको छ ।
न्युयोर्कबाहेक ओहायो, कन्सास, भर्मन्ट, कोलोराडो, विस्कन्सिन र मिजौरीमा पनि मौसम प्रतिकुल छ ।
समाचार एजेन्सी एपीका अनुसार यसको प्रभाव उत्तरी अमेरिकामा क्यानडादेखि सुदूर दक्षिणको अमेरिकी प्रान्त टेक्साससम्म देखिएको छ ।
यसैबीच क्यानडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा बस चिप्लिएर चार जनाको मृत्यु भएको छ ।
न्यूयोर्क राज्यका गभर्नर क्याथी होचुलले यसलाई बफेलो सहरको इतिहासमा सबैभन्दा विनाशकारी आँधी भएको बताएकी छन् । (एजेन्सी)
