मङ्सिर ५, काठमाडौं । आइतबार भएको संसदीय निर्वाचनको मतगणना सुरू भएको छ । सोमबार बिहानदेखि काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरू भएको छ । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरू गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।
चार स्थानमा मतगणना सुरू गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।
मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिृकत श्रेष्ठले जानकारी दिइन् । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको थियो ।
सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।
ललितपुर निर्वाचन क्षेत्र नं ३ को पनि मतगणना सुरू भएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो ।
ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना सुरू गरिएको छ ।
सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, नेकपा (एमाले)का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।
ललितपुर निर्वाचन क्षेत्र नं २ को पनि मतगणना सुरू भएको छ । ललितपुरको सादोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को परिसरमा रहेको मतगणनास्थलमा मतगणना थालिएको छ ।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार एउटै हलमा चार वटा गणनास्थल बनाएर मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिपछि बिहान ४ बजेदेखि मतगणना थालिएको उनले जानकारी दिए ।
आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा ५० हजार ३४ मत खसेको थियो ।
सो क्षेत्रको प्रतिनिधिसभामा नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जन र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णलाल महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।
भक्तपुरमा क्षेत्र नं २ को पनि मतगणना सुरू भएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरू भएको हो ।
आइतबार राति १० बजेसम्म विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी ल्याइएको थियो । त्यसलगत्तैको सर्वदलीय बैठकपछि मतगणना सुरू भएको हो ।
भक्तपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा (एमाले)कातर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ ।
भक्तपुर क्षेत्र नं १ को आज बिहान ७ बजेदेखि मतगणना सुरू गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ ।
