मङ्सिर ४, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर एकैसाथ मतदान शुरु भएको छ । देशभरका ७७ ओटै जिल्लाका मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । देशभर १४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवार रहेका छन् ।
यस्तै, प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।
मतदान सकिएलगत्तै मतपेटिका सम्बन्धित क्षेत्रमा सङ्कलन गरेर तत्काल मतगणना सुरु गर्ने आयोगको तयारी छ । पहिलो चरणमा प्रतिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतगणना हुनेछ । सोलगत्तै प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना प्रारम्भ हुनेछ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिएपछि प्रतिनिधिसभाको समानुपातिक र त्यसपछि प्रदेशसभाको १ र २ को समानुपातिकको मत गणना हुनेछ । प्रत्यक्षतर्फको मतगणना तीन दिनभित्र सम्पन्न गर्ने रणनीति बनाएको छ ।
निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले अपिल गरेको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् । (राससकाे सहयाेगमा)
