कात्तिक २७, चितवन । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् ।
जिल्लाका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचनका लागि ११४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ४७ जना स्वतन्त्र उम्मेदवार हुन् । उनीहरुले आफ्ना मुद्दासहित घरदैलो कार्यक्रम गरिरहेका छन् ।
चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका राजन न्यौपाने अहिले मतदाता भेट्ने कार्यक्रममा व्यस्त छन् । आफ्ना सीमित मुद्दा लिएर जनतामाझ गएको उनले बताए ।
उनले भने “म सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका मुद्दा लिएर जनतामाझ गएको छु ।” देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न दलका उम्मेदवारले नसक्ने भन्दै उनले यसका लागि स्वतन्त्र उम्मेदवारको जीत आवश्यक रहेको बताए ।
स्थिर सरकार, स्वदेशमा रोजगार, शिक्षा, स्वास्थ्य, आवासको सुविधा सर्वसुलभ बनाउन सके जनताको जीवनस्तर माथि उठ्ने अठोटका साथ उहाँ चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १० जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरु यस्तै मुद्दा र नाराका साथ निर्वाचनका लागि मतदातासामु पुगेका छन् ।
क्षेत्र नम्बर २ मा छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार देवीका कुँवरले कृषि, शिक्षा स्वास्थ्य, लैङ्गिक समानता जस्ता मुद्दा बोकेर मतदातासँग मत माग्दै छन् ।
उनले भनिन्, “कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा, सबैको पहुँचमा स्वास्थ्य सेवा हाम्रा मुख्य मुद्दा हुन् ।” उनले सामाजिक तथा लैङ्गिक समानता, विपन्न समुदायको विकास, पर्यटन क्षेत्रको विकास, सुकुम्वासीको दिगो समाधानलगायतका मुद्दा लिएर घरदैलो गर्दै आएकी छन् ।
अर्का स्वतन्त्र उम्मेदवार अङ्गुर पन्त पनि चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा छन् । उनले देशमा सुशासन कायम गर्दै राज्यबाट उपलव्ध सेवा सुविधा जनतासम्म पुर्याउने बताउँदै आएका छन् । उनले जनतालाई सीप र शिक्षा जोड्दै देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
त्यसैगरी, स्वतन्त्र उम्मेदवार हरि तामाङ पार्टीभित्रको गलत प्रवृत्तिको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताए । समाजमा देखिएको निराशालाई आशामा बदल्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
चितवन क्षेत्र नम्बर ३ मा दलका तर्फबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । २०७० सालको संविधानसभा निर्वाचनपछि चर्चामा रहेको यस क्षेत्रमा राजनीतिक दलबाट आठ जना र १२ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।
जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता छन् । जसमध्ये महिला दुई लाख नौ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना छन् । १६१ मतदानस्थलमा रहेका ४६० मतदान केन्द्रबाट उनीहरुले मतदान गर्नेछन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार ८४५ मतदाता छन् भने क्षेत्र नं २ मा एक लाख २४ हजार २१४ र ३ मा एक लाख ४४ हजार २८३ जना छन् ।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार १५ र प्रदेशसभा २ मा ७३ हजार ८३० जना मतदाता रहेका छन् । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ मा ६१ हजार ९७३ र प्रदेशसभा २ मा ६२ हजार २४२ मतदाता छन् । साथै, निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा १ मा ७८ हजार २८६ र प्रदेशसभा २ मा ६५ हजार ९९६ जना मतदाता छन् । (रासस)
