डोटी भूकम्प : बुधबार दिउँसोसम्म दुई सय पराकम्प

Byपहिलो सुचना

२०७९ कार्तिक २३, बुधबार १४:५६ २०७९ कार्तिक २३, बुधबार १४:५६ २०७९ कार्तिक २३, बुधबार १४:५६

कात्तिक २३, बैतडी । मङ्गलबार राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बुधबार दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिए । उनका अनुसार गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा  ४ दशमलव १  र  आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । 

“लगातार तीनपटक एकै स्थानमा केन्द्रबिन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन्,” उनले भने ।

भूकम्पपछि पराकम्पनहरु आइरहेकाले  सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ । भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पका कारण बैतडीमा पनि केही घरहरूमा क्षति पुगेको छ । भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखा प्रमुख महेश अवस्थीले जानकारी दिए ।

यस्तै, भूकम्पका कारण दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा घरहरूमा चिरा परेका स्थानीय महेश भट्टले बताए । साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ । जिल्लाका सबै प्रहरी युनिटहरूलाई बुझ्दा हालसम्म क्षतिबारे कुनै जानकारी नआएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले  भने, “प्रहरी युनिटहरूलाई बुझ्दा क्षतिबारे कुनै जानकारी आएको छैन । स्थानीय जनप्रतिनिधिहरूलाई बुझ्दैछौँ ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook