कात्तिक १२, दार्चुला । सडक निर्माणका क्रममा विष्फोट गराउँदा उछिट्टिएर आएको ढुंगाले लागेर मृत्यु भएका दार्चुलाका ९ वर्षीय बालक पवन महराको परिवारलाई भारतीय पक्षले क्षतिपूर्ति दिने भएको छ । भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार्दै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप १६ लाख नेपाली रुपैयाँ दिने भएको हो ।
शनिबार दिनभर मृतकका परिवार र कम्पनीबीच छलफल भएपछि उनीहरूबीच यस्तो सहमति जुटेको हो । छलफलका क्रममा भारतीय सडक निर्माण कम्पनीले शुक्रबार भएको घटनामा आफ्नो गल्ती भएको स्वीकार गरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययका अनुसार शनिबार दिनभर भएको छलफलबाट सहमति जुटेसँगै अब बालकको पोष्टमार्टम गरिने छ । पोष्टमार्टमका लागि शुक्रबार राति नै शव जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ ।
भारतले तावाघाट(लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर व्यास गाउँपालिका(२, दुम्लिङ अरतौलीका ९ वर्षीय बालक महराको शुक्रबार मृत्यु भएको थियो । तम्बाकुनजिक थी खर्कबाट फर्कने क्रममा साढे ११ बजे पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बुबा हिक्मत महराले बताए ।
