असोज ११, टोकियो । तीन महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज अन्त्येष्टि गरिएको छ ।
राजधानी टोकियोमा आयोजित एउटा समारोहबीच आबेको राजकीय सम्मानमा साथ अन्त्येष्टि भइरहेको जापान टाइम्सले जनाएको छ ।
आबेको अन्त्येष्टिमा सहभागी हुन अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिससहित २१८ वटा विभिन्न मुलुकका सात सय जना प्रतिनिधि सहभागी भएका छन् ।
आबेको अन्त्येष्टि ४ हजार ३ सयभन्दा बढी मानिस सहभागी हुने बताइएको छ । आम जापानीहरूले भने नजिकैको पार्कमा फूल चढाउने व्यवस्था मिलाइएको छ ।
जापान सरकारले आबेको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । दोस्रो विश्वयुद्धपछि जापानमा पूर्वप्रधानमन्त्रीको राजकीय सम्मानमा साथ अन्त्येष्टि गरिएको दोस्रो घटना हो ।
सन् १९६७ मा तत्कालीन प्रधानमन्त्री शिगेरू योसिदाको अन्त्येष्टि पनि राजकीय सम्मानका साथ गरिएको थियो ।
गत असार दोस्रो साता चुनावी अभियानका क्रममा हत्या गरिएका आबे जापानमा सबैभन्दा लामो समय कार्यकाल चलाउने प्रधानमन्त्री हुन् । आफ्नो पार्टीका नेता भएकाले प्रधानमन्त्री फुमिओ कासिदाले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेका हुन् ।
उनको अन्त्येष्टिमा १ करोड १५ लाख अमेरिकी डलर ( १ अर्ब ५० करोड रुपैयाँ) खर्च हुने बताइएको छ । (एजेन्सी)

