असोज ९, काठमाडौं । हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर छ । भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र सरदर स्थानमा छ ।
जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ। राती सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सोमबार र मंगलबार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
