असोज ७, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरूद्धको युद्धका क्रममा देशमा आंशिक सेना परिचालन गरेपछि त्यसको विरोधमा रूसभर प्रदर्शन भइरहेको छ ।
राष्ट्रपति पुटिनले युक्रेनको चार क्षेत्रमा तीन लाख रिजर्भ सेना तैनाथ गर्ने घोषणा गरेका छन् । यो घोषणासँगै आरक्षित सैनिकहरू देशबाट भागिरहेका छन् । शीर्ष कमाण्डरहरू पनि आरक्षित सेनाको तैनाथीमा विभाजित छन् ।
रूसका अधिकांश सहरहरूमा एयरपोर्ट, बस र रेलवे स्टेशनहरूमा देश छोड्ने आरक्षित सैनिकहरूको संख्या बढिरहेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका थिए ।
यसका लागि रिजर्भ सैनिकलाई सैन्य आधारमा ल्याउन घरघरमा बस पठाइँदैछ । धेरै रिजर्भ सैनिकहरू घरको फ्रिजमासमेत लुकेका थिए । उनीहरुलाई जबरजस्ती बाहिर निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘युद्ध गलत छ, हामी जाँदैनौं’ भन्दै प्रदर्शनमा उत्रिएका आरक्षित सैनिकहरूले आफूहरूलाई वधशालामा पठाए पनि युक्रेनी मोर्चामा नजाने घोषणा गरेका छन् ।
पुटिनले मंगलबार नै संसदबाट पारित गरेको विधेयकमा मोर्चामा जान इन्कार गर्नेलाई जेल सजायको व्यवस्था छ ।
सरकारले यसअघि इन्टरेनटमार्फत विरोध गर्न आह्वान गर्ने वा भाग लिनेलाई १५ वर्षसम्म सजायँ हुने चेतावनी दिएको थियो ।
मस्को, सेन्ट पिटर्सबर्गलगायत १० सहरमा प्रदर्शन जारी छ । अधिकांश सहरमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेका छन् । तीन हजारभन्दा बढी पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये अधिकांश मस्को र सेन्टपिटर्सबर्ग क्षेत्रका छन् । यसैगरी साइबेरियाई शहररु इरकुत्स्क र याकातेरिबर्गबाट पनि दर्जनौंलाई पक्राउ गरिएको छ ।
सरकारी चेतावनीसँगै रूस छोड्नेहरूको संख्या बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अधिकांशले नागरिक मुलुक छोडेका छन् । यसका लागि फ्लाइट बुकिङ गर्नेहरुको संख्या ह्वात्तै बढेको बीबीसीले जनाएको छ । यस्तै आफ्नो सीमा पार गर्न खोज्नेको पाँच किलोमिटरसम्म लामो लाइन देखिएको छ ।
यसैबीच जर्मनीका एक मन्त्रीले रुसबाट पलायन भएकाहरुलाई शरण दिने बताएका छन् । बीबीसीका अनुसार गम्भीर दमनको खतरामा परेका रूसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा पाउने गृहमन्त्री न्यान्सी फेसरले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन् । (एजेन्सी)
