असोज ४, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर ९ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।
डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएपछी उनलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरेको जिल्ला प्रशासन कार्यलय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत डा.केसीको स्वास्थ्यामा जटिलता देखिएपछि धनगढीमा उपचार हुन नसक्ने भएपछि काठमाडौं लैजान हेलिकप्टर मगाइएको उनले बताए ।
अनसन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।
यसैबीच अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
