साउन २७, काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सोमबार बसेको बैठकले घिसिङलाई प्राधिकरणमा नियुक्त गरेको हो।
तर, मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई घिसिङलाई पुनः नियुक्त गर्ने निर्णयको बारेमा मंगलबार मात्र जानकारी गराएको थियो।
मन्त्रिपरिषद्को निर्णयपछि उर्जा मन्त्रालयले घिसिङलाई आजै (बुधबार) नियुक्ति पत्र दिने तयारी गरेको छ।
कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्त गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ।
आफ्नो चार वर्षको कार्यकालमा घिसिङले नेपालमा रहेको दशकौं लामो ‘लोडसेडिङ युग’ को अन्त्यको गर्न सफल भएका थिए। साथै, घाटामा चलिरहेको प्राधिकरणलाई नाफामुलक बनाएका थिए।
