बनस्थलीमा सात टहरा र तीन भर्‍याङ भत्काइयो

Byपहिलो सुचना

२०७९ भाद्र ११, शनिबार १५:५२ २०७९ भाद्र ११, शनिबार १५:५२ २०७९ भाद्र ११, शनिबार १५:५२

भदौ ११, काठमाडौं । अवैधरूपले बनाइएका संरचना भत्काउने क्रममा शनिबार काठमाडौं महानगरपालिकाले बनस्थली चोकबाट ढुंगेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ ।

गत मंगलबारदेखि महानगरपालिकाले नक्सा पासअनुरूप निर्माण नभएका र नक्सा पासअनुरूप निर्माण भए पनि सोहीअनुरूप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै आएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरूपले बनाइएका सात टहरासहित सडकबाट नै घरमा राखेको तीनवटा भर्‍याङ भत्काइएको हो ।

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैधरूपले बनाइएका संरचना, काठमाडौं मलका अवैधरूपले बनाइएका संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको संरचना भत्काइएको छ ।

दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन महानगर प्रमुख बालेन शाहले निर्देशन दिएका छन् । 

अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचना बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो ।

अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरको विश्वास छ ।

नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै महानगरले भत्काउन थालेको हो । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook