भदौ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । प्रतिनिधि सभाले नागरिकता ऐनको संशोधन विधेयक पुनः बहुमतले पारित गरेको छ ।
आज बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
प्रतिनिधि सभामा उपस्थित १९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १३५ मत दिएका थिए भने विपक्षमा ६० सांसदले मत दिएका थिए ।
अब राष्ट्रिय सभामा पठाइने यो विधेयक पारित गरेपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुग्नेछ । संविधानको धारा ११३ अनुसार यसरी दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने व्यवस्था छ ।
यसअघि साउन २९ गते राष्ट्रपतिले वैवाहिक अंगीकृत, प्रादेशिक पहिचान, महिलाको आत्मसम्मानलगायत विषय उल्लेख गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।
