साउन २५, काठमाडौं । ख्यातिप्राप्त नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको सोमवार निधन भएको छ। उनि ७० वर्षका थिए।
नेपालमा फास्टफूड चेन रेष्टुरा शुरूवात गर्ने व्यवसायी कक्षपतिको थाइल्याण्डमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपति करीब दुई महीनादेखि थाइल्याण्डमा उपचाररत थिए। लामो समय भारतमा उपचार गराए पनि निको नभएपछि उनलाई थाइल्यान्ड लगिएको थियो ।
उनले २०३३ सालमा काठमाडौंको दरबारमार्गमा नाङ्लो बेकरी क्याफे खोलेका थिए। देशभर सञ्जाल फैलिएको नाङ्लो बेकरीले सुस्त मनस्थितिका व्यक्तिहरुलाई समेत रोजगारी दिदै आएको छ।
उनको धादिङको कुरिनटारस्थित रिभरसाइड स्प्रीङ रिसोर्ट समेत सञ्चालनमा छ ।
होटल संघका पूर्व अध्यक्षसमेत रहेका उनी शुभतारा स्कुलका संस्थापक पनि थिए ।उनका पत्नीसहित एक छोरा र एक छोरी छन्।