साउन २३, दाङ । दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाइएको छ । अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ ।
नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ । यसअघि दैनिक हवाई सेवा थियो ।
‘जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौँ । पहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन सेवा दिने गरेका थियौँ, त्यसपछि प्रत्येक दिन पनि भएको थियो, तर, अहिले घटाउनु पर्ने अवस्था आएको छ,’ उनले भने ।
असारको दोस्रो सातादेखि नियमित हप्तामा तीन मात्रै सेवा दिन थालिएको भन्दै अब साउन अन्तिमतिर दैनिक फ्लाइट भर्ने तयारी रहेको उनले बताए ।
अहिले हप्तामा तीन दिन फ्लाइट भए पनि यात्रुको त्यति चाप नभएको उनले बताए । सरदर १०/१२ यात्रु आवतजावत गर्ने गरेका छन् ।
दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा रु आठ हजार आठ सय १० छन्, भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ ।
काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत रु पाँच सय रहेको, दाङमा रु तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा रु दुई सय बढी लाग्ने गर्छ ।
अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ । ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ ।
अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ । त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ । (रासस)
