एक वर्षमै फल्न थाले स्याउ, ढुवानी गर्न बारीमै हेलिप्याड

Byपहिलो सुचना

२०७८ श्रावण २५, सोमबार १७:२७ २०७८ श्रावण २५, सोमबार १७:२७ २०७८ श्रावण २५, सोमबार १७:२७ #स्याउ

साउन २५, गोरखा । उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो ।

चुमनुब्री गाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार हजार बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमा डुन्डुप लामाले जानकारी दिए । चुमनुब्री किसान समूहलाई गत वर्षको असारमा प्रदेश सरकारले उपलब्ध गराएको इटालियन जातको गोल्डन, फुजी, गाला, रेड डेलिसेस र किङ्ग डेलिसेस जातका बिरुवाले एकै वर्षमा राम्रो उत्पादन दिन थालेको छ । वडाध्यक्ष लामाले भने, ‘गत वर्षको असारमा बेर्ना सारिएको थियो, अहिले बोटमा राताम्मै फलेको छ ।’ त्यहाँ स्थानीय किसान मिलेर समूहमा व्यावसायिक स्याउ खेती गर्न शुरु गरेका थिए ।

प्रदेश सरकारको ७० प्रतिशत अनुदानमा कूल चार हजार ३७० बोट स्याउ रोपिएको वडाध्यक्ष लामाले जानकारी दिए । ‘रोपिएकामध्ये ११४ बोट हुर्किएनन् । अरु सबै बोट राम्रोसँग हुर्किएका छन्’, उनले भने, ‘पहिलो वर्षमानै सोचे भन्दा धेरै राम्रो फल दिन थालेको छ ।’ एउटै बोटमा २० केजीसम्म स्याउ फलेको उनको भनाइ छ ।

नयाँ र कलिला बोटले धान्न नसक्ने भएपछि छाँटकाँट शुरु गरिएको छ । ‘अहिले एउटा बोटमा पाँच केजीसम्म स्याउ फलेका छन्’, वडाध्यक्ष लामाले भने, ‘साना बोटले त्यो भन्दा बढी धान्न नसक्ने भएपछि दाना टिपेर फाल्नु पर्‍यो ।’

इटालीबाट ल्याइएका ती विरुवा खच्चडबाट ढुवानी गरिएको थियो । सो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आए पनि विदेशी जातको भने पहिलो पटक उत्पादन भएको हो । ‘परीक्षणका लागि पनि फरक प्रजातिको स्याउ खेती गरिएको शुरु गरिएको थियो’, वडाध्यक्ष लामाले भने, ‘स्याउले पहिलो वर्ष नै राम्रोसँग फल दिएकाले राम्रो आम्दानी हुन्छ भन्ने किसानको विश्वास छ ।’

स्थानीय किसान मिलेर पोरमा गत वर्षदेखि करिब १०० रोपनीमा स्याउखेती गरेका थिए । करिब ३०० रोपनी जग्गा स्याउ खेतीका लागि भाडामा लिइएको छ । अरु जग्गामा पनि बेर्ना थप्दै जाने योजनामा किसानहरु छन् । सडक सञ्जालले नछोएको उत्तरी गोरखामा उत्पादन हुने स्याउलाई बजारसम्म पुर्‍याउन भने समस्या छ ।

उत्पादित स्याउलाई समयमा बजारसम्म लैजान खच्चड र हेलिकप्टर बाहेकको विकल्प छैन । खच्चडमार्फत बजारसम्म लैजान काठको बाकस बनाउन थालिएको किसानको भनाइ छ । ‘हेलिकप्टरमार्फत ढुवानी गर्न मिल्ने गरी स्याउबारीभित्रै हेलिप्याड निर्माण गरिएको छ’, वडाध्यक्ष लामाले भने, ‘बजारमा पुर्‍याउन नसक्ने अवस्था भएमा स्याउलाई लामो समयसम्म ताजा राख्नका लागि शीतभण्डारको समेत निर्माण भइरहेको छ ।’

त्यहाँ उत्पादन भइरहेको गोल्डन, फूजी, गाला, रेड डेलिसेस र किङ्ग डेलिसेस नेपाली बजारमा प्रति केजी ३०० देखि ५०० सम्ममा बिक्री हुँदै आएको छ । चुमनुब्री किसान समूहले भने पहिलो पटकको उत्पादन गरिएको इटालियन जातको स्याउ गोरखा र छिमेकी जिल्लामा प्रति केजी २५० रुपैयाँमा बिक्रीगर्ने लक्ष्य राखेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook