अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः प्रधानमन्त्री देउवा

Byपहिलो सुचना

२०७९ श्रावण ९, सोमबार ०६:५४ २०७९ श्रावण ९, सोमबार ०६:५४ २०७९ श्रावण ९, सोमबार ०६:५४
Deubaप्रधानमन्त्री शेरबहादुर देउवाले अाइतबार सिंहदरबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा महिला ,बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालयले अाेजित कार्यक्रम मा

साउन ९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो उपभोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा कम गर्ने कार्यमा दत्तचित्त भएर लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमूलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बेरोजगारी आदिका कारण मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन बुद्धिमत्तापूर्ण ढङ्गले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो प्रधानमन्त्री देउवाले औँल्याए ।

नेपाल उद्योग परिसङ्घको १९ औँ वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै उनले कोभिड–१९ महामारीले शिथिल बनाएको अर्थतन्त्र रुस र युक्रेनबीचको युद्धका कारण थप प्रभावित हुने स्थितिमा पुगेको बताए ।

अहिले अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दुबै चाप परेको स्थिति रहेको भन्दै प्रधानमन्त्रीले यसका लागि सरकार र निजी क्षेत्र दुबैले एक आपसमा संवाद र सहकार्य गरेर चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

‘अर्थतन्त्रको सुदृढीकरणका लागि खासगरी तपाईं उद्यमी व्यवसायी साथीहरूले विदेशमा उत्पादित महँगा र विलासी वस्तुहरू स्वेदशमा आयात गर्न र उपभोग बढाउनतिर मात्र नलागेर स्वदेशमै उत्पादन सम्भव भएका वस्तु तथा सेवाको उत्पादन वृद्धि र तिनको बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउन त्यस क्षेत्रमा लगानी केन्द्रित गर्न म आग्रह गर्न चाहन्छु,’ उनले भने ।

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारशिला भएकाले कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत् आर्थिक वृद्धिको जग बलियो बनाउन र मुलुकको गरिबी र आर्थिक असमानता हटाउन प्रधानमन्त्री देउवाले निजी क्षेत्रको ध्यानाकर्षण गराएका थिए ।

विदेशी कच्चा पदार्थमा आधारित कम मूल्य अभिवृद्धि हुने प्रशोधन उद्योगभन्दा मुलुककै कृषि, वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी प्रवद्र्धन हुने गरी आफ्ना आर्थिक क्रियाकलापहरूलाई अघि बढाउन आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलाप जस्तै प्रत्यक्ष वैदेशिक लगानी बढाउने तथा पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने, निकासीजन्य उद्योगको विस्तार गर्ने, निर्यात वृद्धिमार्फत व्यापार घाटा कम गर्ने, उपभोगजन्य र विलासिताका वस्तु तथा सेवाको आयात र उपभोगलाई निरुत्साहित गर्ने काममा लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री देउवाले विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट आउन प्रोत्साहित गर्नेलगायतका विभिन्न कार्यहरूमा सरकारले निजी क्षेत्रको सक्रिय सहयोगको अपेक्षा गरेको बताए ।

उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाई पेट्रोलियम पदार्थको आयात र उपभोगलाई घटाउन पनि उनले निजी क्षेत्रलाई आग्रह गरेका थिए ।

तात्कालिक लाभ लिने क्षेत्रमा भन्दा पनि दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने, मुलुकभित्रका श्रम, सीप र कच्चा पदार्थको अधिकतम परिचालन गरी निकासी बढाउनेतर्फ ध्यान केन्द्रीत गर्न प्रधानमन्त्रीले अनुरोध गरेका थिए ।

मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने एवं बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने र सरकारलाई मुलुकको विकासका लागि आवश्यक स्रोत परिचालन गर्न सहयोग पुर्‍याउने क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको प्रधानमन्त्रीले दृढता व्यक्त गरेका थिए ।

निजी क्षेत्रलाई उद्यम व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार सुविधाहरू उपलब्ध गराउन सरकार सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ ।

‘मुलुकभित्र उद्योग व्यवसायको पर्याप्त विकास विना आर्थिक विकास र समृद्धि आउन सक्दैन । निजी क्षेत्रको बलियो संलग्नताविना मुलुकमा उद्योग व्यवसायलाई अघि बढाउन सकिँदैन,’ प्रधानमन्त्री देउवाले भने, ‘यस कुरालाई आत्मसात् गरी निजी क्षेत्रलाई लगानीको उचित वातावरण प्रदान गरी सरल र सहज रूपमा उद्यम व्यापार सञ्चालन गर्नसक्ने वातावरण निर्माण गर्न सरकारले विभिन्न कानूनी, नीतिगत र संस्थागत सुधारहरू गर्दै गइरहेको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने कुरामा यहाँहरू सबैलाई आश्वस्त तुल्याउन चाहन्छु ।’

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कुल ग्राहस्थ उत्पादन र कुल रोजगारी सिर्जनामा निजी क्षेत्रको हिस्सा करिब तीन चौथाइभन्दा बढी रहेको तथ्याङ्क पेश गरेका थिए ।

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले आगामी दिनमा यो योगदानलाई अझ फराकिलो, खँदिलो, समन्यायिक, सन्तुलित र दिगो बनाउन सबैलाई अपिल गरेका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook