नागरिकता विधेयक पारित भएकोमा एनआरएनएले गर्‍यो स्वागत

Byपहिलो सुचना

२०७९ श्रावण ८, आईतवार ०७:३६ २०७९ श्रावण ८, आईतवार ०७:३६ २०७९ श्रावण ८, आईतवार ०७:३६

साउन ८, लन्डन । प्रतिनिधिसभाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ ।

सदनले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए ।

सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरेका थिए ।

‘विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छन्,’ उनले भने । अध्यक्ष आचार्यले प्रतिनिधि सभाबाट उक्त विधेयक पारित गर्न योगदान गर्नुहुने सम्पूर्ण सांसद, राजनीतिक दलका नेता, कानुनविद्, सञ्चारमाध्यमलगायत सङ्घका सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिए ।

यसैगरी सङ्घका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरेकी छन् ।

‘हामी गैरआवासीय नेपालीहरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्ने छौँ’, उनले भनिन् ।

सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले यो विधयेकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताए ।

‘यी अधिकारको परिभाषा अर्को विधयेकमा आउने छ। दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’को व्यवस्था हुनेछ । त्यसैले गैरआवासीय सङ्घले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ’, उनले भनिन् ।

सङ्घका अर्का उपाध्यक्ष नारायण आचार्यले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरे । उनले अब मातृभूमिको ऋण तिर्न सबै गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताए ।

सङ्घका महासचिव केशव पौडेलले समस्त गैरआवासीय नेपालीले लामो समयदेखि प्रतिक्षा गरिररहेकामा पहिलो सफलतास्वरूप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको बताए ।

‘सम्पूर्ण एनआरएनहरूलाई हार्दिक बधाई छ । यो संसारभरि रहेका हामी नेपाली र हाम्रा सन्ततिलाई मातृभूमि नेपालसँग जोड्नका लागि कोसेढुङ्गा सावित हुने विश्वास छ’, उनले भने ।

उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook