आगामी एक साता फोहोर व्यवस्थापन प्रभावित, घरमै राख्न महानगरको आग्रह

Byपहिलो सुचना

२०७९ श्रावण ४, बुधबार २१:३९ २०७९ श्रावण ४, बुधबार २१:३९ २०७९ श्रावण ४, बुधबार २१:३९
Fohor

साउन ४, काठमाडौं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । 

यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको महानगरले जनाएको छ । 

सहरी विकास मन्त्रालयले फोहोरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै महानगरलाई केही दिन गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागेको हो ।

बिहीबारदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने महानगरका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।

महानगरले बुधबार एक सूचना जारी गर्दै सोही अवधिमा आआफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोर सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबभन्दा बढी काठमाडौं महनगरको ५०० मेट्रिक टन फोहर निस्किन्छ । निजी र महानगरको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडी मात्र सिसडोल पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook