असार २२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन् ।
बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको हुँदा उनि माथि छनबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय समिति गठन गरेको थियो ।
समिति गठन गरे लगत्तै शर्माले राजीनामा दिएका हुन् । “छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दछु,” उनले भने ।
शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि दाबी गरे ।
राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “मैले कुनै गल्ती गरेको छैन । यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ ।”
संसदमा बोल्दै आज शर्माले आधिकारिक व्यक्तिहरूबाट बजेट बनाइएको र सिसीटिभी फुटेज पनि आफूले डिलिट नगरेको बताएका थिए ।
