असार २२, बलेवा । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ ।
चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् ।
विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् ।
धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत् केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो ।
ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरू भएको भए पनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
ढिला गरी प्राधिकरणलाई जानकारी प्राप्त भएको र त्यहाँ क्रियाशील सामुदायिक समितिले नै मर्मतको काम गर्नुपर्ने बताएको वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताए ।
वर्षासँगै आएको बाढी, पहिरो र चट्याङले ट्रान्सफर्मर र प्रसारण लाइनका कैयौं पोलहरूमा समेत क्षति पुर्याएको छ । (रासस)
