असार २१, काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि २०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेश भएको थियो ।
सत्तारुढ गठबन्धनबीच सहमति भएपछी उक्त विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार नागरिकता विधेयकमा रहेको बिबादित विषय झिकेर फेरि प्रतिनिधि सभामा पेश गर्ने तयारी छ । त्यस विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषय विवादित छ ।
विधेयक बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट फिर्ता लिने तयारी सरकारको छ ।
