अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

Byपहिलो सुचना

२०७९ असार ११, शनिबार १५:४६ २०७९ असार ११, शनिबार १५:४६ २०७९ असार ११, शनिबार १५:४६

असार ११, कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् ।

वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरी चोक र म्याग्दी चोकका घर डुबानमा परेको वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए ।

यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा छ । डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए ।  

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन ।

‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याए पनि मानवीय क्षति भएको छैन,’ उनले भने ।

घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरू अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएर बसेका छन् । 

जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण संकलन  भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए ।

यसैगरी अविरल वर्षाका कारण पोखरा-१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ ।

अर्को एक घर पहिरामा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । पहिराबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उनले जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook