असार ६, चितवन । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ ।
भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।
एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए ।
उनले भने, ‘यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।’
एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनले भनाइ छ । आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उनको गुनासो छ । विगत ६ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन् ।
कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको उनले बताए । कुरिलो व्यवसायबाट मात्रै वार्षिक २० लाख आम्दानी गर्ने गरेको उनको भनाइ छ । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उनले बताए ।
भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउँदै उनले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताए ।
‘कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ’, उनले भने ।
बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उनले गुनसो गरे । अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उनले जानकारी दिए ।
आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उनले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताए । ‘कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन,’ उनले भने ।
उनले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गरेका हुन् ।
सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौका लगायतका तारकारी उत्पादन भइरहेका छन् । उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उनले बताए ।
‘तरकारीको मूल्यको कुरा गर्ने हो भने लागत मूल्य पनि उठ्न कठिन छ’, उनले भने । बुबाआमाले विसं २०५० देखि गर्दै आएको यो व्यवसाय भएकाले आफूले यसलाई व्यावसायिकरुप दिएको उनको भनाइ छ ।
कुरिलो र तरकारीलाई व्यावसायिकरूपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उनको गुनासो छ । ‘राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन,’ उनले भने ।
शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उनले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताए । (रासस)
