चालु अधिवेशनमै नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

Byपहिलो सुचना

२०७९ असार ३, शुक्रबार १७:३६ २०७९ असार ३, शुक्रबार १७:३६ २०७९ असार ३, शुक्रबार १७:३६

असार ३, काठमाडौं । नागरिकता ऐन (संशोधन) विधेयक पारित नहुँदा लाखौँ मानिस अनागरिक भएर आएको समस्या समाधानका लागि चालु संसद् अधिवेशनमै विधेयक पारित गर्ने वातावरण मिलाउन सांसदले शीर्ष नेतृत्वसँग माग गरेका छन् ।

महिला, कानुन र विकास मञ्चले आज विधेयक विषयमा महिला सांसदसँग छलफल गर्न आयोजित कार्यक्रममा अनागरिक भएर बाँचेकाको पीडा सम्बोधन गर्न पनि चालु अधिवेशनमै विधेयक पारित गरिनुपर्नेमा उनीहरुले जोड दिए ।

सांसद अनिता देवकोटाले गठबन्धन र विपक्षी दलसँग पनि सहमति जुटाएर नागरिकता ऐन (संशोधन) विधेयक पारित गराउन सरकारलाई निरन्तर अनुरोध गरिरहेको बताइन् ।

सांसद यशोदा गुरुङ सुवेदीले हरेक विषयमा हुने दलीय राजनीति र स्वार्थी कर्मचारीतन्त्रका कारणले नागरिकता ऐन (संशोधन) विधेयक अघि बढ्न नसकेकाले सबै दलका शीर्ष नेतृत्वले सोच्ने बेला आएको बताइन् ।

‘बजेटको छलफलका क्रममा पनि नागरिकताको विषय धेरै उठेको छ, पितृसत्तावादी सोच र स्वार्थी कर्मचारीतन्त्रका कारण पनि यो समस्या जटिल बनेको हो’, उनले भनिन् ।

सांसद समिना हुसेनले संविधानबमोजिम कानुनी व्यवस्था नहुँदा नागरिकता नपाउने बढेकाले निराश हुनेको सङ्ख्या पनि बढेको उल्लेख गरेकी थिइन् ।

नागरिकता नपाएर पीडित बनेका र राजनीतिक दलका शीर्ष नेतृत्वलाई एकै ठाउँमा राखेर छलफल गराउन पनि उनले मञ्चसँग आग्रह गरेकी थिइन् ।

सांसद प्रमिलाकुमारी यादवले आमाबाबु जन्मसिद्ध नागरिक भएर पनि छोराछोरी अनागरिक हुने गरेकाले समस्या समाधानका लागि काम हुनुपर्ने बताइन् । यौनिक अल्पसङ्ख्यकलाई पनि नागरिकता दिने गरी विधेयकमा व्यवस्था गरिनुपर्ने उनको विचार थियो ।

सांसद लक्ष्मी चौधरीले राज्य व्यवस्था तथा सुशासन समितिबाट सदनमा प्रतिवेदनसहित नागरिकता विधेयक पुगेकाले संसदमा छलफल गरी निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

संविधान र कानुनले आमाका नाममा नागरिकता दिनुपर्छ भने पनि कुनै प्रमुख जिल्ला अधिकारीले दिने र कुनैले नदिने गर्दा समस्या आएको उनको भनाइ थियो ।

सांसद मीनाक्षी झाले अरु देशका नागरिकले पनि जन्मसिद्ध नागरिकता पाएकाले यस विषयमा छानबिन गर्न माग गरेकी थिइन् । नेपालकै मुसहर समुदायले अझै नागरिकता पाउन नसकेको पनि सांसद झाले सुनाइन् ।

विसं २०६८ को जनगणनाअनुसार नौ लाख बालबालिका आमासँग मात्र बसेका छन् । तिनले अझै नागरिकता पाउन नसकेको अधिवक्ता बिनु लामाले बताइन् ।

आमाको नाममा नागरिकता पाउने संवैधानिक अधिकार कार्यान्वयनका लागि पनि नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्ने उनको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook