एसपीपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड

Byपहिलो सुचना

२०७९ असार २, बिहीबार १६:४१ २०७९ असार २, बिहीबार १६:४१ २०७९ असार २, बिहीबार १६:४१

असार २, काठमाडौं । सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपीपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनिहरुले नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले अहिले स्वाधीनताको विषयमा गम्भीर प्रश्न उठेको बताए । नेपालको घोषित परराष्ट्रनीतिमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, असंलग्न नीति र स्वतन्त्र परराष्ट्रनीति उल्लेख रहेको उनले बताए । सन्तुलित कूटनीतिमा विचलन आउँदा शक्ति राष्ट्रहरु कुनैले पक्षमा र अर्कोको विरोधमा प्रयोग गर्न खोजेको उनको भनाइ छ ।

अहिले एसपीपीका कारण राष्ट्रमाथि गम्भीर खतरा हुने सांसद श्रेष्ठले बताए । एमसीसीको चर्चा हुँदा नागरिकले यसलाई विकास परियोजना होइन हिन्द प्रशान्त रणनीति हो भनेको र आफ्नो पार्टीले पनि यथास्थितिमा स्वीकार नगरौँ भनेको उनले बताए । पार्टीसमेतले सहभागितामा एमसीसी व्याख्यासहित पास गर्ने भने पनि व्यवहारमा त्यो नदेखिएको उनको भनाइ छ ।

नेपाललाई केन्द्रमा राखेर कुनै देशप्रति ‘प्रो’ बन्न नहुने र राष्ट्रहित केन्द्रीत स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिनुपर्नेमा सांसद श्रेष्ठको जोड छ । सन्तुलित कूटनीति अवलम्बन गर्नुपर्ने र निजी स्वार्थका लागि राष्ट्रिय हित तिलाञ्जली दिन नहुने उनको भनाइ छ । देश कसैको पक्षमा प्रयोग हुन दिन नहुने, छिमेकी नीति अबलम्वन गर्नुपर्ने र दुवै छिमेकीसँग समनिकटताका आधारमा सम्बन्ध राख्नुपर्नेमा उनको जोड छ ।

सांसद तुलप्रसाद विश्वकर्माले एसपीपी अमेरिकाले यस अघि नेपालले स्वीकार गरिसकेको र अब सम्झौता गर्न नपर्ने दाबी गरेको तथा सेनाबाट सम्झौता नगरेको बताएकाले वास्तविकताबारे सरकारले सदनमा स्पष्ट गर्नुपर्ने बताए । सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीको अमेरिका भ्रमणले दुई देशको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गरे । सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री र प्रधानसेनापति अमेरिका जाँदा सम्झौतामा हस्ताक्षर हुँदैछ भनेर जनस्तरमा आक्रोश र चिन्ता रहेको बताए ।

नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले रुस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय रुपमा मलको अभाव रहेकाले यस वर्ष अझै बढी समस्या हुने देखिएको बताए । सांसद देवेन्द्र दाहालले समाजवादको कुरा संविधानमा उल्लेख भए पनि सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमको आधारबिन्दु समाजवादको नभएको उल्लेख गरे ।

सांसद् जयन्तीदेवी राई र विमला राई पौडेलले महोत्तरीकी पीडित युवती न्याय माग्दै काठमाडौंमा भएकाले सरकारले उनलाई बचाउनुपर्ने र अपराधीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । सांसद् सिंहबहादुर विश्वकर्माले कृषिजन्य उत्पादन बढाउने सरकारको लक्ष्य भए पनि नागरिकले समयमा मल नपाउँदा अपेक्षित लक्ष्य हासिल हुन नसक्ने बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook