जेठ २४, नेपालगन्ज । प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवेश गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोकनजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट छ जना नेपालीलाई पक्राउ गरिएको उनले बताए ।
उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश गर्न निषेध छ । तर नेपालगञ्जका क्यासिनोहरूले निर्वाध रूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् । (रासस)
