जेठ २ देखि जजिरा एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सुरू गर्ने

Byपहिलो सुचना

२०७९ बैशाख २८, बुधबार ०८:०१ २०७९ बैशाख २८, बुधबार ०८:०१ २०७९ बैशाख २८, बुधबार ०८:०१

बैशाख २८, काठमाडौं । जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा सुरू गर्ने भएको छ ।

यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो।

यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको छ। कुवेतस्थित नेपाली दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने जनाएको छ।

वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडीमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने दूतावासको विश्वास छ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने दूतावासले जनाएको छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज जेठ २ गते बिहान आइपुग्ने भएको छ।

एयरवेजले मंगलबार उडान तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समयअनुसार साँझ १८ः३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने जनाएको छ।

सो जहाज सोही दिन बिहान २ः३० बजे कुवेतका लागि प्रस्थान गर्नेछ। जजिराले साताको आइतबार, मङ्गलबार, बिहीरबार कुवेतबाट नेपालका लागि उडान भर्नेछ। यस्तै सोमबार, बुधबार र सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर फर्कने छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook