बैशाख १८, मङलबारे । इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । इलाम नगरपालिका–८ सिङफ्रिङमा शव गाडेको अवस्थामा शनिबार फेला परेको हो ।
तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
महिला हराएपछि आफन्त र स्थानीयले खोजी गर्न थालेका थिए । खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताए । उनले पुरिएको शव निकालेको बताए ।
हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
बिनिताको श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको परिवारको भनाइ छ । उनीहरूको चार वर्षीया एक छोरी रहेको बताइएको छ । घटना कसरी भयो भन्ने विषयमा इलाम प्रहरीले अनुसन्धान गर्ने इलामका प्रहरी प्रमुख श्रेष्ठले बताए ।
