बैशाख ८, ललितपुर । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विष्फोटकाे छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।
ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते र ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेको र बाँकी सात जना घाइते मध्ये एक जना अवस्था गम्भिर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
