बैशाख ५, कञ्चनपुर । कञ्चनपुर वेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरूद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरूद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउदविरूद्ध जाहेरी परेको छ । भट्टद्वय र साउद झारफुकको काम गर्छन् ।
यसैगरी स्थानीय कुवेरसिंह साउद, गौरी साउद, कमला साउद, जानकी घडाल र चक्र साउदविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गत उजुरी परेको छ ।
जाहेरी दर्ता भएसँगै घटनाको प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । मृतकको शव महाकाली अस्पतालमा राखिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
चैत २८ गते टाउको दुख्ने समस्या देखिएपछि रञ्चुला छिमेकी कमलाको घरमा पुगेकी थिइन् । त्यहाँ झारफुक गर्ने धर्मानन्द र नारायणदत्तले रञ्चुलालाई थारूको भूत लागेको बताएका थिए । दिनभर मन्त्र जप्नुपर्ने भन्दै त्यही राखेका र वैशाख १ गते भूत धपाउने भन्दै कुटपिट गर्दा रञ्जुलाको मृत्यु भएको बताइएको छ ।
