वैशाख ८ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिने

Byपहिलो सुचना

२०७९ बैशाख ४, आईतवार १४:०३ २०७९ बैशाख ४, आईतवार १४:०३ २०७९ बैशाख ४, आईतवार १४:०३

बैशाख ४, काठमाडौं । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा आउने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ । 

यसैगरी मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४ सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

पुरानो एक हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए । 

उनका अनुसार बुद्ध, यती, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान सुरू गर्नेछन् । अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि सुरू हुने प्राधिकरणले जनाएको छ । 

यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तर्राष्ट्रिय उडान सुरू गरिने महानिर्देशक अधिकारीले बताए । 

‘हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरू गर्नेछौँ र कटान दुई महिनामा सक्ने लक्ष्य राखेका छौं,’ उनले भने । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook