एमाले अध्यक्ष ओलीलाई ‘मेधावी योगदान पदक’

Byपहिलो सुचना

२०७९ बैशाख २, शुक्रबार ०७:२४ २०७९ बैशाख २, शुक्रबार ०७:२४ २०७९ बैशाख २, शुक्रबार ०७:२४
तस्बिर: रासस

बैशाख २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ ।

विश्व स्काउट संगठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ ओलीलाई प्रदान गरिएको हो ।

नेपाल स्काउटले बिहीबार काठमाडौंमा गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई उक्त पदक प्रदान गरेकी हुन् ।

ओलीले प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पदक प्रदान गरिएको बताइएको छ ।

समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताएकी थिइन् ।

उनले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरुक र कर्तव्यनिष्ट बनाइ विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी थिइन् ।

पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताएका थिए ।

स्काउटलाई अप्ठ्याराका साथीका रुपमा उनले चित्रण गरेका थिए । सो अवसरमा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली सो पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गरेका थिए ।

ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook