चैत ११, विराटनगर । ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ सर्वसम्मतिले पारित भएको छ ।
प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेस गरेका थिए ।
‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरू भएको छ ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ९३ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो विधेयक सदनमा पेस गरेका थिए ।
सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले उक्त विधेयकमा तोकिएको बमोजिम र सङ्घीय कानुनबमोजिम स्पष्ट रूपमा उल्लेख भएकाले यो विधेयक किन आवश्यक छ भन्दै विधेयक प्रदेशकै स्वामित्व अभिवृद्धि गर्ने किसिमको हुनुपर्ने धारणा राखे ।
प्रदेश सभा सदस्य मोहनकुमार खड्काले शासन पद्धतिलाई कानुन र विधिबाटै व्यवस्थित बनाइने भएकाले यो विधेयक आमसञ्चारका लागि उपयुक्त भएको चर्चा गरे ।
उनले आठ परिच्छेद र ४५ दफा रहेको उक्त विधेयकअनुसार सञ्चार माध्यममा वैदेशिक लगानी गर्नसक्ने प्रावधान गलत छ भन्दै अव्यवस्थित गतिविधिलाई नियन्त्रण गर्न प्रस्तावित विधेयक राम्रो भएको बताए ।
प्रदेश सभाको अर्को बैठक यही चैत १३ गते दिउँसो १ बजे बस्नेछ । (रासस)
