देशभर गर्मी बढ्यो

Byपहिलो सुचना

२०७८ चैत्र ५, शनिबार ०७:५३ २०७८ चैत्र ५, शनिबार ०७:५३ २०७८ चैत्र ५, शनिबार ०७:५३
Weather_Pahilosuchana

चैत ५, काठमाण्डौ । हाल देशमा उल्लेखनीय सक्रिय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको छ । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएको थियो ।
गत वर्ष २१ मार्चको काठमाडौंको अधिकतम तापक्रम २८.७ डिग्री सेल्सियस थियो, जुन उक्त महिनाको सबैभन्दा बढी तापक्रम थियो ।
मौसमविद् इन्दिरा कँडेलका अनुसार पूर्वी नेपालमा तापक्रम झन् बढिरहेको छ  । मार्चदेखि नै अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी रहेको उनले बताइन् । मनसुनी प्रणाली नहुँदा आकाश खुला हुन्छ तथा गर्मीयाममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सीधा भएकाले घाम तातो हुने र तापक्रम बढ्ने उनले बताइन् ।
शुक्रबार सबैभन्दा बढी तापक्रम धरानमा ३७.२ डिग्री र जनकपुरमा ३७ डिग्री मापन भएको छ । जनकपुरमा बिहीबार ३५ डिग्री मात्र थियो । शुक्रबार भैरहवामा ३६.८, सिमरामा ३६.५, विराटनगरमा ३६.२, धनगढीमा ३५.२ र नेपालगन्जमा ३४.६ डिग्री मापन भएको छ । बिहीबार भैरहवामा ३३.९, सिमरामा ३४.८, विराटनगरमा ३५.५, धनगढीमा ३३.२ र नेपालगन्जमा ३३.३ डिग्री मापन भएको थियो । तर, भैरहवामा तापक्रम एक दिनमै २.९ डिग्रीले बढेको छ । अन्य क्षेत्रमा पनि तापक्रम वृद्धि भएको महाशाखाले तथ्याङ्कले देखाएको छ ।
तराई मात्र होइन, पहाडी क्षेत्रमा पनि तापक्रम बढेको छ । शुक्रबार दिपायलको अधिकतम तापक्रम ३४.२ पुगेको छ । त्यस्तै, वीरेन्द्रनगरमा ३२.६, घोराहीमा ३२.८, ओखलढुंगामा २८.४ र जुम्लामा २७ डिग्री मापन भएको छ ।
हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ । भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् कँडेललाई जानकारी दिइन् ।
महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
आइतबार सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सोमबार पनि पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook