
फागुन २६, काठमाडौं । संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
आज बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
बसमा करिब २५ जना रहेको अनुमान छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बस दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । अहिलेसम्म १४ जनाको शव निकालिएको छ । साथै घाइतेको उद्धार गरिएको उनले बताए । पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
‘अहिलेसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ। घाइतेको उद्धार गर्दैछौं । केही घाइतेलाई उद्धार गर्न हेलिकोप्टर मगाइएको छ,’ उनले भने, ‘तीन जना गम्भीर घाइते छन् ।’
केही यात्रुलाई जिवितै उद्धार गरिएको छ । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।
