दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत उत्पादन थाल्ने

Byपहिलो सुचना

२०७८ फाल्गुन २५, बुधबार १३:१२ २०७८ फाल्गुन २५, बुधबार १३:१२ २०७८ फाल्गुन २५, बुधबार १३:१२

फागुन २५, लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत आयोजनाबाट आगामी वैशाख पहिलो हप्तादेखि विद्युत उत्पादन थाल्ने भएको छ ।  

लमजुङको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैत महिनाभित्रमा परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले जानकारी दिए ।

उनले भने, ‘हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौं ।’

यसबीचमा साना-साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थल लगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गर्ने उनको भनाइ थियो ।

आयोजनाको शत प्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ । 

उनका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइप लगायतका काम सम्पन्न भइसकेको छ ।

उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ । त्यस्तै, पाइप बिच्छ्याउने, सुरूङ खन्ने लगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

पनस्टेकको ७०० मिटर, तीन हजार २०० मिटरको सुरूङ खन्ने तथा पाइप बिच्छाउने, अर्को दुई हजार २७० मिटरको सुरूङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 

आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेंसीसहर नगरपालिका वडा नंं ११ रामचोकबेंसीमा पावर हाउस रहेको छ। वि.सं २०७२ फागुनबाट निर्माण सुरू गरेको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्‍याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरूङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ । 

पछि समय थपेर वि.सं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि वि.सं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो ।

सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो ।

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि  विसं २०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि सम्पन्न भएन ।

सो पश्चात् आगामी चैत महिनाभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य रहे पनि अगामी वैशाख महिनामा मात्र उत्पादन हुने भएको छ । 

सुरूमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले चार अर्ब ६४ करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ ।

यस आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

नेपाल विद्युत प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाको अनुसार सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत खरिद गर्ने सम्झौता भएको छ ।

जिल्लामा यसअघि आधा दर्जन जलविद्युत आयोजनाले निर्माणकार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरिरहेको छ ।

त्यस्तै आधा दर्जनभन्दा बढी आयोजनाले निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा यस आयोजना जसरी पटक/पटक विद्युत उत्पादन मिति तोक्दै निर्माण अघि बढाइरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook