फागुन २३, काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन सूचित गरेको हो ।
यसअघिका अध्यक्ष डिल्लीबहादुर सिंहलगायतले तोकिएको काम नगरेको पाइएपछि सरकारले छानबिन समिति गठन गरी बर्खास्त गरेको थियो । विद्युत तथा ऊर्जा क्षेत्रको काम कारबाहीको नियमनका लागि सरकारले आयोग स्थापना गरेको हो ।
सूचनाअनुसार आयोगमा एक अध्यक्ष, तीन सदस्य (एक महिलासहित) रहने कानुनी प्रबन्ध छ । सूचनाअनुसार १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आयोग नियमन आयोग नियमावली, २०७५ को अनुसूची १ बमोजिम आवेदन दिन आग्रह गरिएको छ ।
आवेदन पेस गरेका उम्मेदवारको कार्ययोजनाको मूल्यांकन छनोट भई संक्षिप्त सूचीमा परेका बढीमा पाँच उम्मेदवारलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने ऊर्जा मन्त्रालयले जनाएको छ ।
विद्युत व्यापार, महसुल तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा नियमन गर्ने उद्देश्यका साथ सरकारले २०७२ सालमा आयोग स्थापना गरेको हो । (रासस)
