फागुन २३, सुर्खेत । सुर्खेतमा शंकास्पद मृत्यु भएका कालिकोटका युवक कृष्ण हमालका बाबु हीराचन्द्र हमालले प्रहरीका असइविरुद्ध जाहेरी दिएका छन् । प्रहरीको कुटाइबाट कृष्णको मृत्यु भएको भन्दै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असइ शेरसिंह धामीविरुद्ध आफन्तले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।
कालिकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरी हिरासतमै कुटपिटबाट मृत्यु भएको भन्दै असइ धामीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताए ।
शुक्रबार राति नेपालगन्जबाट सुर्खेत आउँदै गरेका हमालको प्रहरी नियन्त्रणमा रहेको भोलिपल्ट मृत्यु भएको थियो । उनी भे१क ९२२ नम्बरको ट्रकमा आएका थिए । ट्रकसहित चालक र सहचालकलाई पनि प्रहरीले सुब्बाकुनामै नियन्त्रण लिएर राखेको थियो । शुक्रबार साँझ प्रहरीको कुटाइ खाएका हमालको शनिबार बिहान मृत्यु भएको थियो ।
उनको मृत्युपछि आफन्त र स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए । आइतबार दिउँसो सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चारबुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन स्थगित गरेका छन् ।
शनिबार बनाइएको छानबिन समितिमा एकजना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुनबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतका लागि पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । हमाललाई प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तको आरोप छ ।
