नवलपुरका किसान अदुवा खेतीतर्फ आकर्षित

Byपहिलो सुचना

२०७८ फाल्गुन १२, बिहीबार ०८:४२ २०७८ फाल्गुन १२, बिहीबार ०८:४२ २०७८ फाल्गुन १२, बिहीबार ०८:४२
Ginger

फागुन १२, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शङ्कर पौडेलले पछिल्लो समय अदुवा खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताए ।

त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा नौ हजार ८०० मेट्रिक टन उत्पादन भएको पौडेलको भनाइ छ ।

चालु आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा नौ हजार ९५० मेट्रिक टन अदुवामात्रै उत्पादन भएको छ । अदुवा खेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताए । जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १०.३७ मेट्रिक टनदेखि १०.८९ मेट्रिक टनमात्रै रहेको पौडेलको भनाइ छ ।

जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौँ, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा बिक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर बिक्री गर्ने गरिएको जानकारी दिए । अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवा खेततर्फ आकर्षित भएका पौडेलले बताए । जिल्लाको पहाडी क्षेत्रमा अदुवा खेती राम्रो हुने गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook