बुधबारदेखि नेपाल र भारतका उर्जा सचिवस्तरीय बैठक

Byपहिलो सुचना

२०७८ फाल्गुन १०, मंगलवार १८:०२ २०७८ फाल्गुन १०, मंगलवार १८:०२ २०७८ फाल्गुन १०, मंगलवार १८:०२
Nepal India

फागुन १०, काठमाडौं । विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरू हुने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्ष रूपमा हुन नसकेको बैठक यसपटक भौतिक रूपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंगलुरूमा भएको थियो ।  

यसअघिका अनौपचारिक बैठक श्रव्यदृश्यका माध्यमबाट आयोजना गरिएको थियो । भोलिदेखि सुरूदेखि सुरू हुने यस बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन् ।

यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । बुधबारको बैठकमा सहसचिवस्तरीय समितिले एजेण्डा तय गर्नेछ । बिहीबार भने सचिवस्तरीय बैठक हुनेछ । 

बैठकमा नेपालका तर्फबाट विद्युत व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो । 

निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै रु पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ ।

यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ ।
 
आगामी मनसुनमा नेपालको बिजुली खेर जाने अवस्था आएकाले कुनै न कुनै कोणबाट सम्बोधन गर्ने गरी यस पटक प्रयास गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । 

सो प्रसारण लाइन नेपाल र भारतबीच समान लगानीमा निर्माण हुने सम्झौता भइसकेको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनको २० किलोमिटर खण्ड नेपाली भूभागमा पर्नेछ भने १२० किलोमिटर खण्ड भारतमा पर्नेछ ।

विसं २०७६ असोजमा भएको संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइन निर्माणमा बारेमा सहमति जुटाएको थियो । 

यस्तै, कटैया कुशाहा १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट, रक्सोल–परवानीपुर प्रसारण लाइन, न्यू नौतनवा मैनिहा १३२ ककेभी प्रसारण लाइनको बारेमा समेत छलफल हुने बताइएको छ । 

बैठकमा भारतीय कम्पनीले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजना र त्यसको प्रसारण लाइन निर्माणको बारेमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

यस्तै, भारतले नेपालसँग मिलेर ठूलो क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव राखेको छ । समान लगानीमा सरकारी स्वामित्वको कम्पनी खडा गरेर आयोजना निर्माणका लागि प्रस्ताव भारतको तर्फबाट पेस भएको र त्यसमा आवश्यक छलफल हुने बताइएको छ ।  

त्यस्तै, भारतको प्रसारण प्रणाली प्रयोग गरेर बङ्गलादेश विद्युत निर्यात गर्ने बारेमा समेत दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने छ ।

विसं २०७६ मा भारतको बैंगलुरूमा भएको बैठकमा पहिलो अन्तरदेशीय ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि, भारतीय ग्रीड प्रयोग गरी नेपाल र बङ्गलादेशबीच विद्युत आदान प्रदानलगायत नौ वटा विषयमा छलफल भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook